अहिले विद्युत्त प्राधिकरणको प्रणालीमा उपलब्ध ७५ प्रतिशत बिजुली उपभोक्ताको घरमा दैनिक १८ घण्टासम्म आपूर्ति गर्न सकिन्छ । तर प्राधिकरणले पुस २१ गतेदेखि दैनिक नौ घण्टाबाट बढाएर १२ घण्टासम्म लोडसेडिङ गर्दै आएको छ ।
बाँकी बिजुली कहाँ गयो ? अहिले यो प्रसंग विद्युत्त क्षेत्रका इन्जिनियरबीच चर्चामात्र होइन प्राधिकरणभित्र पनि चर्चाको विषय बनेको छ ।
प्राधिकरणले यही पुस २३ को पत्रकार सम्मेलनमा बाँडेको विज्ञप्तिमा बिजुली माग एक करोड ६० लाख युनिट र आपूर्ति एक करोड २० लाख युनिट उल्लेख छ । यो हिसाबले माग भन्दा २५ प्रतिशत मात्र विजुली कम छ ।
‘२५ प्रतिशत विजुली अपुग हुँदा ६ घण्टामात्र लोडसेडिङ हुनुपर्ने हो ?’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘बाँकी बिजुली कहाँ गयो ?’ स्रोतका अनुसार प्रणालीमा बिजुली उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताका घरमा लोडसेडिङ बढ्नुमा प्राधिकरणले उद्योगलाई नियमविपरित बिजुली वितरण गरेर हो ।
घोषितरुपमा प्राधिकरणले विराटनगरका ४ वटा उद्योगलाई २४ घण्टा विजुली दिइरहेको छ । सामन्यतया उद्योगलाई भन्दा सर्वसाधरणलाई विजुली वितरणमा पाथमिकता दिनुपर्ने हुन्छ ।
मोरङ–सुनसरी औद्योगिक कोरिडरमा ११ वटा जुट उद्योगमा अन्य उद्योगमा भन्दा चारघण्टा लोडसेडिङ कम गर्न उद्योग मन्त्री शंकरप्रसाद कोइरालाले दिएको आदेश पालना भइरहेको स्रोतले बतायो ।उद्योग मन्त्री कोइरालाकै दवावमा तीन साताअघि विराटनगरको रिलायन्स स्पिनिङ मिल्सलाई लोडसेडिङमुक्त बनाइएको छ । आठ मेगावटबराबरको विद्युत्त शक्ति उपभोग गर्ने रिलायन्सले दैनिक २० घण्टासम्म उद्योग सञ्चालन गर्दै आएको छ ।
त्यसैगरी देीनक ३८ मेगावट बिजुली खपत गर्ने वीरगन्जस्थित जगदम्बा स्टिललाई पनि प्राधिकरणले चौबिसै घण्टा बिजुली दिइरहेको स्रोतले बतायो । ‘थाहा भएका ठूला उद्योगबाहेक अन्य उद्योगले पनि यस्तो बिजुली पाइरहेका छन्’, स्रोतले भन्यो, ‘प्राधिकरणले आफ्नो प्रणालीको ९० मेगावट बिजुली चोरी गरेको देखिन्छ । ’
बिद्युत्त प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले रिलायन्ससहितका केही ठूला उद्योगलाई मन्त्रालयकै निर्णयअनुसार बिजुली दिएको बताए । अन्य उद्योगलाई अनियमित आपूर्ति भएको भए काटिने प्रवक्ता भाटको भनाइ थियो ।
उद्योगले चौबीसै घण्टा बिजुली पाएका कारण सर्वसाधरणका घरमा लोडसेडिङ बढेको, केही उद्योगले प्राधिकरणको सस्तो बिजुली पाएको, कसैले ३५ रुपैयाँ युनिट पर्ने डिजेल प्लान्ट चलाउनुपरेको र यसले उद्योगको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको गुनासो उद्योगपतिले मूख्यसचिल लीलामणि पौडेलसमक्ष गरेको समाचार आजको अन्नपूर्ण पोष्टमा विकास थापाले लेखेका छन् ।
Source: onlinekhabar.com